जापद्वारा आहलुवालीयाको बयानको खण्डन — सांसदले जनतालाई ढाँट्ने कार्य गर्दैछ – अनमोल प्रसाद

कालिमन्युज, कालेबुङ 15 अप्रेल। जन आन्दोलन पार्टीले सार्बजनिक गरेको छुट्टै राज्य गोर्खाल्याण्डको बील केवल चुनावी जनसभामा जनतालाई देखाउनका निम्ति मात्र हो भनि सांसद एस.एस आहलुवालीयाले लगाएको आरोपलाई जापले खण्डन गरेको छ। जाप सर्वोच्च नीति निर्धारण समितिका सदस्य अनमोल प्रसादले एक पत्रकार सम्मेलनको आयोजना गरेर आहलुवालीयको बयानलाई खण्डन गरेका छन्।

‘सांसद एस.एस आहलुवालीयाले जापले सार्बजनिक गरेको बील केवल जनतालाई देखाउनका निम्ति मात्र हो भनेछन्। उनले यसक्रममा उक्त बीलले जापले आफूलाई पठाउँछ भनेर ईमेलमा पर्खिरहेको तर कुनै पनि ईमेल आएन भनेका छन्। यो उनले जनतालाई ढाटेका हुन्। हामीले उनलाई गोर्खाल्याण्डको बील ईमेलद्वारा पठाइसकेका छौँ’ अनमोल प्रसादले भने। यसक्रममा उनले पत्रकारहरूलाई गोर्खाल्याण्डको बील ईमेलद्वारा सांसद आहलुवालीयालाई पठाएको प्रतिलिपी देखाउँदै ‘सांसदले ईमेल सायद हेरेनन् होला यसकारण उनले ईमेल प्राप्त भएन भनि भनेका हुन्’ भने। यसका साथै उनले उक्त गोर्खाल्याण्डको बील सांसद आहलुवालीया अनि गोजमुमो अध्यक्ष विमल गुरुङलाई कोरियरद्वारा पठाएको जानकारी गराए।

अनमोल प्रसाद
अनमोल प्रसाद

‘हामीले आज गोर्खाल्याण्डको बील सांसद आहलुवालीयालाई दिनका निम्ति समय मागेका थियौँ तर उनले हामीलाई भेट्ने समय दिएनन। यसकारण हामीले उक्त बील सांसद आहलुवालीया अनि विमल गुरुङलाई कोरियरद्वारा पठाएका छौँ’ अनमोल प्रसादले भने। यसक्रममा उनले कुनै पनि बील राज्यको विधानसभामा पठाउनुपर्छ भनि आहलुवालीयाले दिएको भाषणप्रति कटाक्ष गर्दै कुनै पनि राज्य गठनको बीललाई राज्यको बिधानसभामा पठाउनुपर्ने आवश्यक्ता छैन भन्ने भारतीय संविधानको धारा 3 मा उल्लेख रहेको बताए।

‘बील पारित गर्नका निम्ति विधानसभामा पठाइन्दैन। पहिला यो लोकसभामा पारित गरिन्छ अनि मात्र राज्यको मनतव्य लिन बिधानसभामा पठाउने कार्य हुन्छ। यदि त्यसमा राज्यको विधानसभाले स्वीकार नगरेको खण्डमा पनि त्यसलाई लोकसभाले राज्यको मंतव्य नमानेर पारित गर्न सक्नेछ’ अनमोल प्रसादले भने। यसक्रममा उनले यसबारे पहिला लोकसभामा यसबारे कार्य अघि बढाउने कार्यको थालनी गर्नुपर्ने सुझाव उल्टै सांसद आहलुवालीयालाई दिएका छन्।

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions