मुख्यमन्त्री ममता व्यानर्जीले दिइन् हरियो झण्डा जीटीएले एनओसी दिए स्टेट युनिभर्सिटी स्थापना प्रक्रिया शुरू गरिने

मुख्यमन्त्री ममता व्यानर्जीले दिइन् हरियो झण्डा
जीटीएले एनओसी दिए स्टेट युनिभर्सिटी स्थापना प्रक्रिया शुरू गरिने

प्रतिविम्ब न्यूज
दार्जीलिङ 24 मार्च।

जीटीएले एनओसी दिएको खण्डमा राज्य सरकारले मङपूमा स्टेट युनिभर्सिटी स्थापना अनि निर्माणकार्य शुरू गरिहाल्ने आश्वासन मुख्यमन्त्री ममता व्यानर्जीले दिएकी छिन्। हिजो विधानसभा भवनमा जीटीए क्षेत्रका तीनजना विधायकहरू अमरसिहँ राई, डा. रोहित शर्मा अनि सरिता राईले मुख्यमन्त्री ममता व्यानर्जीसित भेटवार्ता गरेका थिए। सोही भेटवार्ताको क्रममा मुख्यमन्त्री ममता व्यानर्जीले उक्त आशय व्यक्त गरेको दार्जीलिङका विधायक अमरसिहँ राईले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।

अमरसिहँ राई।
अमरसिहँ राई।

विधायक राईले विज्ञप्तिमा उल्लेख गरेअनुसार, मुख्यमन्त्री ममता व्यानर्जीले विशेष स्टेट युनिभर्सिटिको स्थापनाको निम्ति मङपूमा जमीन पनि चिह्नित भइसकेको जनाउँदै जीटीएलाई आपत्ति नरहेको खण्डमा निर्माणकार्य पनि चाड़ै शुरू गरिने आश्वासन प्रदान गरिन्। जीटीएको तर्फबाट यस विषयमा कुनै आपत्ति नरहेको विधायकहरूले मुख्यमन्त्रीलाई जनाएको र यथाशीघ्र पहल गरिदिने अपील पनि गरेको पनि राईको भनाइ छ।
यसबाहेक राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीसित पनि विधायकहरूले भेटवार्ता गरेको र उक्त भेटवार्तामा मुख्यरूपले विश्वविद्यालय स्थापना, कालेबुङ पेदोङमा बीएड कलेज स्थापना अनि जीटीएक्षेत्रमा रहेको 31 वटा विद्यालयहरू जो अहिलेसम्म सरकारी मान्यता पाएका छैनन् ती विद्यालयहरूलाई मान्यता प्रदान गरिनुपर्ने विषयमा कुराकानी भएको पनि राईले विज्ञप्तिमा जनाएका छन्।  उक्त तीनैवटा विषयमा मन्त्री पार्थ च्याटर्जीले सकरात्मक पदक्षेपको आश्वासन दिँदै आगामी केही दिनभित्रमा विश्वविद्यालय अनि बीएड कलेज निर्माणसम्बन्धि आवश्यक जानकारी लिन विभागीय प्रतिनिधिलाई निरीक्षण भ्रमणमा पठाउने भएको र सोही बेला 31 वटा विद्यालयहरूको पनि निरीक्षण भ्रमण गरी सरकारी मान्यता प्रदान गरिने दिशामा पनि पहल शुरू गरिने पनि मन्त्री पार्थ च्याटर्जीले आश्वासन दिएको राईको भनाइ छ।

हिजो ममता व्यानर्जी अनि शिक्षा मन्त्री पार्थ च्याटर्जीसित बसिएको उक्त दुईवटा भेटवार्ता दार्जीलिङ पहाड़को शैक्षिक विकास अनि व्यवस्थापनको दिशामा महत्त्वपूर्ण साबित हुने आफूहरूलाई विश्वास रहेको विधायक अमरसिहँ राईले विज्ञप्तिमा जनाएका छन्।

फोटोः अमरसिहँ राई।

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions