विमल गुरूङको घर बन्यो गोजमुमोको पार्टी अफिस

प्रतिविम्ब न्यूज
दार्जीलिङ, 11 अप्रेल।

भूमिगत नेता विमल गुरूङको घरमै गोर्खा जनमुक्ति मोर्चा तकभर समष्टि कमिटीले घरलाई नै कब्जा गरेर पार्टी कार्यालय बनाइयो। गोजमुमोका संस्थापक सदस्य दिनेश थिङको अगुवाईमा नै आजदेखि विमल गुरूङको घरमा गोजमुमो तकभर समष्टिको कार्यालय बनाइएको पार्टीको दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङले पनि स्वीकार गरेका छन्।यद्धपि उक्त विषयमा धेरथोर जानकारी प्रदान गर्न उनले अस्वीकार गरेका छन्।

पार्टी सूत्रले बताएअनुासर, जिल्ला प्रशासनले गोजमुमोको पातलेबासस्थित पार्टी कार्यालय र सिंहमारीको पार्टी कार्यालयमा मात्रै तालाबन्दी गरेको छ। तर अहिलेसम्म पातलेबासस्थित विमल गुरुङको घरमा प्रशासनले तालाबन्दी गरेको छैन। तर विमल गुरूङको यस घरको मूल द्वारमा कतिपय उपद्रवीहरूले घरिघरि बाख्रा वा खसीको टाउको झुण्डाउने कार्य गरिरहेका छन्। यसप्रकारका कार्यहरूबाट गाउँमा पनि अशान्ति भइरहेको छ। यसैकारण आजदेखि गोजमुमो तकभर समष्टि कमिटीले विमल गुरूङको यस घरको एक तलालाई पार्टी कार्यालयको रूप दिएको छ भने अर्को एक तलामा सिङ्ला निवासी प्रणिल सुब्बा बसिरहेका छन्। जसको घर गत केही महीनाअघि जलेको थियो।

पार्टीले भनेअनुसार, विमल गुरूङको यो तीन तले घरको एक तलालाई कञ्चनजंघा नृत्य एकाडेमीलाई चलाउन दिइने पनि योजना बनाइएको छ। किनभने, कञ्चनजंघा नृत्य एकाडेमीका बाल -बालिकाहरूलाई पातलेबासको पार्टी कार्यालयको माथिल्लो तलामा नृत्यको प्रशिक्षण दिने गरिन्थ्यो। तर यो पार्टी कार्यालय पूर्णरूपले बन्द रहेपछि कञ्चनजंघा नृत्य एकाडेमीका बाल-बालिकाहरूले नृत्यको प्रशिक्षण लिन पाएका छैनन्।

स्मरण गराइन्छ, गोजमुमोका संस्थापक अध्यक्ष विमल गुरूङले दागोपापकालमानै आफ्नो अलगै नृत्य एकाडेमीको स्थापना गरेका थिए। जसले बाल-बालिकाहरूलाई निःशुल्करूपमा नृत्यको प्रशिक्षणका साथै भेषभूषाहरू पनि दिने गरेको थियो। तर गोर्खाल्यान्ड आन्दोलनको कारण पातलेबासस्थित गोजमुमोको पार्टी कार्यालय पूर्णरूपले बन्द भएपछि यी बाल-बालिकाहरूले नृत्यको प्रशिक्षण पनि लिन पाएका छैनन्। यसैकारण विमल गुरूङको घरको एक तला यी बाल-बालिकाहरूका लागि नृत्य प्रशिक्षण गर्नको लागि प्रदान गर्ने योजना बनाएको पनि पार्टीले बताएको छ। पार्टीले विगत निकै समयदेखि रिक्त रहेको विमल गुरूङको यस घरलाई सामाजिक कार्यहरूको लागिनै प्रयोगमा ल्याइने योजना बनाएको पनि बताएको छ।

विमल गुरूङले कञ्चनजंघा नृत्य एकाडेमी मात्रै होइन, विपन्न परिवारका विद्यार्थीहरूलाई निःशुल्क शिक्षादान दिने उद्देश्यले मालिधुरामा कञ्चनजंघा पब्लिक स्कूलको पनि स्थापना गरेका थिए, तर गोर्खाल्यान्ड आन्दोलनकै क्रममा यस स्कूलमा पनि दार्जीलिङ जिल्ला प्रशासनले तालाबन्दी गरेको थियो। यो स्कूल चियाबगानको जमीनमा अवैधरूपले स्थापना गरिएको विरोधमानै जिल्ला प्रशासनले यो स्कूल बन्द गरेको थियो। तरै पनि पछिबाट विद्यार्थीहरूको समस्यालाई ध्यानमा राखेर जिल्ला प्रशासनले यस स्कूललाई सञ्चालन गर्न दिने अनुमति दिएको थियो र हाल यो स्कूल चलिरहेको छ।

फोटोः पार्टी कार्यालयमा परिणत भएको विमल गुरूङको घर।

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions