Showing posts with label nepali. Show all posts
Showing posts with label nepali. Show all posts

चिसो थप्पडी र माटो कविता - कार्यक्रम अनुभूति

8:47 PM

बी० पी० बजगाईं, सिलगढी

मैले दुइदिन अघि नै क्यालेण्डरमा ३१ मार्च २०१८ –लाई दाग लगाएर राखेको थिएँ। यसदिन पहिलो दार्जीलिङ साहित्यिक भेट २०१८ (1st Darjeeling Literary Meet 2018) सिलगढीको होटल मैनाकमा सम्पन्न हुनेभएको थियो अनि यसै साहित्यिक भेटमा कवि राजा पुनियानीको दुईवटा मल्टिमिडिया कविता भ्रम पहाड अनि इन्काउन्टर स्क्रिनिङ हुनगइरहेको थियो। हुन त मैले यी दुवै कविताहरू पहिल्यै हेरिसकेको हो, दुईपटक युट्यूबमा अनि एकपटक सिक्किमको जोरथाङमा, कफी कवितामा। तर पनि म मैनाक होटल जान उत्सुक थिएँ। किनभने राजाको कविताले हाम्रो वर्तमान, हाम्रो सपनालाई सम्बोधन गरेको छ, म अनेपालीहरूमा यसको प्रतिक्रिया कस्तो हुन्छ भनेर जान्न चाहन्थें।

म मैनाक होटल पुग्दा बङ्गला नाटक, बङ्गला कविताहरूमाथि अलग अलग कोठामा सङ्गोष्ठी भइरहेको थियो। महँगो होटलमा भुँईंमा बस्ने आम मान्छेहरूलाई साहित्यमा कसरी सम्बोधन गरिने चर्चा भइरहेको थियो। हो, यहीं त फरक छ हाम्रो साहित्यमा, औपनिवेशिक संस्कारमा एकथरीले हाम्रो झर्रो जीवन भोगेका हुँदैनन्, महङ्गा होटलमा बसेर टाडाबाट नै हाम्रो गाला मुसार्न चाहन्छन्। हामी यसको ठीक विपरित झर्रो जीवन बाँच्छौं, अर्ग्यानिक कुरा लेख्छौं अनि आम मान्छेलाई साहित्यमात्र होइन व्यवहारमा अँगाल्छौं, किनभने हामी आफैं नै उपनिवेशवादको ढुङ्गाले चेप्ट्याएको भुँईं मान्छे हौँ।

केही क्षण अघिमात्र यस कार्यक्रमलाई पर्यटन मन्त्री गौतम देवले आरम्भ गरेर गएका रहेछन्। अब मैले भन्न परेन राजाले कस्तो स्थानमा कवितामा रौँ ठाडो हुनेगरी माटो र सिङ्गो पहाड देखाउन गइरहेको थियो। उनीहरूको ठूलो जमघटमा हामी केवल पाँचजना मात्र थियौं, म, राजा पुनियानी, समीर शर्मा, छेवाङ योन्जन अनि विजय काफ्ले। राजाको मल्टिमिडिया पोएट्रीका छायाङ्कन निर्देशक पल्लव आएका थिए तर कुनै कार्यले बाहिरिएका थिए।

राजाले मल्टिमिडियामा कविता देखाउँछसम्म थाहा थियो त्यहाँ उपस्थित भीडलाई, यो उनीहरू मध्ये धेरैलाई नयाँ प्रयोग थियो, यसैले हेर्न उत्सुक थिए। तर के देखाउँछ, देखाइने कुराको कन्टेन्ट के हो भन्ने कुराबाट केवल भीड होइन आयोजक पक्ष पनि अनभिज्ञ नै थिए। स्क्रीनिङ अघि राजाले मञ्चमा गएर कवितामा आम मान्छेको चासो मर्दै गएको देखेर नै आफूले कविता अनि यसको प्रभावलाई जिउँदो राख्न मल्टिमिडियाको सहयोग लिन थालेको बताए। यस कार्यमा उनका सङ्गीत पक्षका सहयोगी समीर शर्मालाई पनि मञ्चमा बोलाएर परिचय गराए।

हलको बत्ती बन्द गरियो…, शुरू हुन्छ “भ्रमपहाड”…, बज्छ भ्रम पहाडको साइरन उपनिवेशवादीहरूलाई होशियार गराउँदै।

कविताको प्रत्येक लाइनले मुक अँध्यारो चिर्दै थियो, “सुनमायाको पहाडी गर्भमा चे ग्वेभाराको खनाती छ…” अङ्ग्रेजी सब-टाईटलले त्यहाँको वातावरण चिसो बनाउँदै लग्यो। “चौरस्तामा घिसिङ, बिमल, मन र विनयहरू लीला नाच्दै गर्दा टोल-टोल अस्तित्व युद्धको नाटक खेल्छ हन्ड्रेड डेज, इन्दिरा आवास, प्रधान मन्त्री ग्राम सडक योजना…” दर्शकले बुझ्दै थिए, आन्दोलन रोकिएको होइन केवल बिसाएको हो भनेर।

“हजुर के दर्शक बोल्न पाउँछ? …चुप साले….” सबै चुप थिए। यो प्रस्तुति पहाडमा भएको भए जाडो महिनामा पनि वातावरण गर्मिएको हुन्थ्यो होला तर सिलगढीमा सबै चिसिँदै गएको थाहा लाग्दैथियो।

यसको लगत्तै पछि अर्को मल्टिमिडिया पोएट्री चल्न थाल्छ स्क्रीनमा… “इन्काउन्टर”…। “सखारै इन्काउन्टरमा भाषा मारिएको खबर हेडलाइनमा छ आज र लावारिस लडिरहेको त्यो भाषाको लाशले पर्खिरहेको छ आफ्नै पोस्टमार्टम तारिख…” “बास माग्दा घर किन जलाउँछ, जस्टिस माग्दा टेरोरिस्ट किन भनाउँछ” राजाको कविताले जति चिच्याउन थाल्यो अघि नै चिसिएको त्यहाँको वातावरणमा काँडा उम्रिँदै गएको थियो।

केहिदिन अघिमात्र स्टुडियो साउण्ड ट्रेकका समीर भाईले युट्यूबमा अपलोड गरेको नेपाली साङ्गीतिक संसारका महान विभूति स्व० अम्बर गुरुङको निबन्ध ‘कहाँ गए ती दिनहरू’ सुनेको थिएँ। त्यसमा भएको अम्बर गुरुङको एउटा भनाई राजा पुनियानीसँग ठ्याक्कै मेल खाएको देखें। गुरुङ भन्थे, “स्रोतालाई आफूतिर तानेर पाएको तन्मयताको प्रतिक्रियात्मक प्रबलताले मात्र गायकले प्रभावको प्रभुत्व जन्माउन सक्छ”।

राजा गायक होइन, कवि हुन्, गाउने कवि हुन्। तर अहिले राजाले कविता पाठकलाई पठनको निम्ति मात्र नछोडेर सुनाउने अनि सुनाएर कविताले जन्माउन सक्ने प्रतिक्रियात्मक प्रबलताले वर्तमान सोच्न बाध्य पार्ने काम गर्दैछन् मल्टिमिडिया पोएट्रीको सहायताले। त्यसैको प्रभाव थियो, “पहिलो दार्जीलिङ साहित्यिक भेट २०१८” –को त्यो कोठा सिलगढीको गर्मीमा पनि चिसिएको थियो।

कविता सकियो। बत्ती बल्यो। करैले केही चिसा थप्पडीहरू बजे। उनीहरू मध्ये धेरैको मनलाई सायद यहाँ, यो कसरी भयो भन्ने प्रश्नले थिचिरहेको थियो होला। धेरैले सायद हाम्रो दुखाई बुझ्ने पहिलो अवसर पाएका थिए होला अनि त्यस्ताहरूको अघि हामी सही पाटोमा उभिएको पनि थियौं होला। हामीलाई केही अपेक्षा थिएन, हामी त्यहाँबाट निस्कियौं। कमै बजेको चिसो थप्पडीमाझ निर्धक्क उभिएको थियो पुनियानीको माटो कविता। हामी कम थप्पडीमा पनि ठूलो छात्ती बनाएर त्यहाँबाट प्रस्थान गऱ्यौं। पछि के चर्चा भयो त्यहाँ थाहा भएन….

मलाई विश्वास छ, त्यसपछि विचार गर्नेहरूको टाउको पक्कै पनि फनफनी घुम्न शुरु भयो।

Via Times Doors

भाजपाले ममतासँग साटो फेर्न मात्र विमल गुरुङलाई प्रयोग ग-यो। – विनिता रोका

11:59 AM

28th March 2018

दार्जीलिङ, २७ मार्च। मोर्चा नेत्री विनीता रोकाले विनय तामाङ र अनीत थापालाई समर्थन जनाएको छन्। गत वर्षको गोर्खाल्याण्ड आन्दोलनको बेला रोका गोर्खा जनमुक्ति नारी मोर्चा, दार्जीलिङ महकुमा समिति अध्यक्ष साथै प्रवक्ताको पदमा थिइन्। तिनी निकै दिनदेखि घरबाहिर थिइन् भने मंगलवार अचानक दार्जीलिङ प्रेस गिल्डमा पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले विनय र अनीत गूटलाई समर्थन जनाइन्।

गत आन्दोलनको बेला पहाड़लाई भयानक अवस्थाबाट निकाल्न र जनतालाई बचाउन विनय तामाङ र अनीत थापाले उठाएको कदम प्रशंसानीय रहेको रोकाले बताइन्। १०४ दिनको पहाड़ बन्द र आन्दोलनलाई पहाड़को जनताले साथ दिएको हो भन्दै तर भूल नेतृत्वको कारण पहाड़को अवस्था भयानक भएर गएको हो भन्दै तिनले भावुक हुँदै पहाड़को जनता अनि शहीद परिवारसँग क्षमा मागिन्।

१०४ दिनको पहाड़ बन्द र आन्दोलनको कार्ययोजनाहरू केही नभएको बताउँदै रोकाले नेताको मोहम्मद बिन तुघलकको जस्तो कामले गर्दा पहाड़को जनताले दुःख पाएको अनि १३ जना शहीद भएको जनाइन्। भारतीय जनता पार्टीले बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग साटो फेर्न विमल गुरुङलाई प्रयोग गरेको अनि दार्जीलिङ पर्वतीय क्षेत्रको भयानक स्थितिप्रति केन्द्रको भाजपा सरकारले वास्ता नगरेको रोकाले आरोप लगाइन्।

बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाल्याण्डको मागलाई गणतान्त्रिक माग रहेको बताउँदै यो केन्द्र सरकारको अधीनस्थ विषय रहेको बताइसकेकी छन् तर केन्द्रमा भाजपाको पूर्ण बहुमतको सरकार हुँदाहुँदै पनि भारतीय गोर्खाहरूबारे यसले एक शब्द पनि नबोलेको रोकाले आरोप लगाउँदै अब आउने चुनाउहरूमा गोर्खाहरूलाई भाजपालाई भोट नदिने अपील गरिन्। ममता ब्यानर्जीले जीटीए सभा दिएको तर चलाउने मान्छेले चलाउन नजानेको तिनले भनिन्।

भारतीय जनता पार्टीले भारतीय गोर्खाहरूलाई सपना देखाएर त्यसलाई विपनामा परिणत गर्ने कार्य कहिले नगरेको र केन्द्रको भाजपा सरकारले पहाड़को जनतालाई लथालिङ् बनाएको र पहाड़को जनतालाई मान्छे गन्ती नगरेको रोकाले आरोप लगाइन् ।

आन्दोलनकालमा पुलिस-प्रशासनले शान्ति व्यवस्था बनाउन कदम उठाएको तर गणतान्त्रिक आन्दोलनप्रति कार्वाही नगरेको तिनले दावी गरिन्। विनय तामाङ र अनीत थापाले पहाड़ो जनतालाई सुरक्षा प्रदान गरेको, यदि तिनीहरूले यसो नगरेको भए पहाड़को अवस्था अर्कै भएर जाने तथा लाखौं मानिसहरू घर-परिवार अनि गाउँ छेडे जानुपर्ने अवस्था आउने थिया, तिनले भनिन्। आफ्ना कतिपय साथीभाइहरू स्वाभिमानको कारण घर फर्की आउन नसकेको बताउँदै विनीता रोकाले तर तिनीहरूलाई आफ्नो परिवार सम्झेर घर फर्किने आह्वान गरिन्।

स्रोत :  हाम्रो प्रजाशक्ति

बारूद थापा बने गोजयुमोका केन्द्रिय उपाध्यक्ष विमलको अदूर्दशिताको कारण जनताले दुःख पाए- बारूद

7:20 PM

प्रतिविम्ब न्यूज
दार्जीलिङ 28 मार्च।

गत 104 दिनको आन्दोलनकालभरि भूमिगत रहेका बागी नेता बारूद थापा पनि आधिकारीकरूपमा अब विनय तामाङ खेमामा सामेल भए। विमल खेमामा रहेर आन्दोलनकालभरि भूमिगत अवस्थामा रहेका बारूद थापाले केही महीनाअघिमात्रै सार्वजनिक हुँदै विनय तामाङलाई समर्थन जनाएका थिए। विमल गुरूङको समयमा कालेबुङका प्रभावशाली नेताको रूपमा ख्याति कमाएका थापालाई हालमा त्यति सक्रिय नदेखिएतापनि आज उनलाई पुनः गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिको उपाध्यक्षको रूपमा नियुक्त गरिएको छ। गोजयुमो केन्द्रिय समितिका पदाधिकारीहरूले आज गोजमुमो अध्यक्ष विनय तामाङसित एक औपचारिक सभा बसेका थिए भने सोही सभापछि बारूद थापालाई युवा मोर्चा केन्द्रिय समितिको उपाध्यक्षको रूपमा नियुक्त गरिएको हो।

गोजयुमो केन्द्रिय उपाध्यक्ष नियुक्त हुनसाथ उनले आज पत्रकारहरूसमक्ष विमल गुरूङको रणनीतिविहीन आन्दोलन अनि अदूर्दशिताको कारण पहाड़को जनताले हुनसम्मको दुःख पाएको बताए। विमल गुरूङको रणनीतिबिनाको आन्दोलन अनि अदूर्दर्शिताको कारण पहाड़को जनताले हुनसम्मको दुःख पाए। त्यस्तो परिस्थितिबाट विनय तामाङ अनि अनित थापाले पहाड़लाई बाहिर निकाल्ने काम गरेको छ। उनीहरू दुईको कारणले गर्दा नै पहाड़ अहिले शान्त भएका छन्। पहाड़वासीले राहतको सास फेरिरहेका छन्। यसको निम्ति म सम्पूर्ण पहाड़वासीको पक्षमा विनय तामाङ अनि अनित थापालाई धन्यबाद पनि दिन्छु, पत्रकारहरूलाई सम्बोधन गर्दै बारूद थापाले आज यसो भने।

विनय तामाङ अनि अनित थापाले पहाड़लाई बचाउने जुन सराहनीय काम गरेको छ त्यसलाई हेरेर पनि पहाड़को जनताले उनीहरूलाई समर्थन गर्नुपर्छ, थापाले यसो पनि भने।

उल्लेख्य, हिजोमात्र आन्दोलनकालमा निक्कै सक्रिय देखिएका तथा लामो समयसम्म भूमिगत रहेका गोजमुमो नेत्री विनिता रोकाले पनि विमल गुरूङमाथि यस्तै आरोप लगाउँदै विमल गुरूङलाई मोहम्मद बिन तुघलगको संज्ञा समेत दिएका थिए भने आज लगत्तै बारूद थापाले पनि यस्तै आरोप लगाएका छन्।

बारूद थापालाई केन्द्रिय उपाध्यक्षको रूपमा पाउँदा आफूहरूलाई धेरै खुशी लागेको उल्लेख गर्दै युवा मोर्चा शीर्ष नेतृत्त्वहरू क्रमैले केन्द्रिय अध्यक्ष अमृत योञ्जन, महासचिव तिलक छेत्री अनि केन्द्रिय प्रवक्ता अरूण छेत्रीले पनि उनलाई पार्टीमा स्वागत गरेका छन्। बारूद थापासित आज यी तीनैजना नेतृत्त्वहरू पनि पत्रकारहरूसमक्ष उपस्थित रहेका थिए।

फोटोः पत्रकारहरूलाई सम्बोधन गर्दै बारूद थापालगायत अन्य शीर्ष युमो नेताहरू।

_ म पनी जाने Rising Star*

6:37 AM

लगातार 104 दिने पहाड बन्द भएपछि
13 जना भगत सिगं सहिद भएपछि
हजारौ क्रान्तिकारी जेल गएपछि
गोर्खाल्याण्डका आवाजहरू भूमिगत् भए पछि
"म पनी जाने Rising Star*,

ऐतिहासिक बन्द बेअर्थ फिर्ता लिएपछि
क्रान्ती थन्काएर शान्ति रोजे पछि
उन्मुक्ति संग डेभ्लपमेन्ट साटे पछि
सहिद परिवारले सहिदको ज्याला पाए पछि
'म पनी जाने Rising Star*

विभिषणहरू लकां गए पछि
सत्तामोहले दासत्व श्विकारे पछि
उर्दिवालाहरूको तन्खा र पदोन्नती भएपछि
मरौ घरमा उत्सव राखे पछि
_म पनी जाने Rising Star*

(Note- मलाई नाँच्न र गाउँन त त्यती आउँदै तै पनी Rising Star* को खिताब जित्न कवि अगमसिंह गिरी द्वारा रचित तथा स्व अम्बर गुरूङको सगींत र स्वर भएको यो गीत अभ्यास गर्दैछु।

'गीतको बोल यस्तो छ_

हो, नौ लाख तर उदाए, धर्तीको आकाश हाँसेछ।
शरद लाग्यो बनमा, फुलले प्रीति गाँसेछ।
नजली यहाँ झिलिली, मनको तारा निभेछ।
गुराँस फुल्यो पहाडमा, मनको फुल झरेछ।
नसम्झ आज नेपाली, सन्चोले यहाँ बाँचेको।
काँडा कै माझ पहाडी, छैन र कहाँ हाँसेको…२।
सुनको सपना आँसुमा, किन हो बाँधील्यायौ नि।
घरको माया बिर्सेर, किन पो यहाँ आयौ नि…२।

हो, मुटुको रगत एउटै हो, पिरको वह बेग्लै छ।
हामीलाई यहाँ चिन्यौ कि, मनको चोट बेग्लै छ।
नियाली हेर हामीलाई, भिजेको छैन परेला।
आँसुले गह भिजाए, अरुले निर्धा सम्झेला।
बुझ्छ र कस्ले रोएको मुटुमा काँडा लिएर।
अरुका सारमा हाँसेको, आँसुका घुट्का पिएर…२।
पहाडी फुल नफक्री, किन हो चुँडिल्यायौ नि।
मनको आगो निभाउन, किन पो यहाँ आयो नि…२।

-(हार्दीक श्रद्दा सुमन, स्व कवि अगमसिंह गिरी, स्वर्गीय अम्बर गुरुङ, अनी गोर्खाल्याण्ड आन्दोलनमा होमिएका सहिदहरू प्रति।)

-एक जातिय कलाकार

दार्जीलिंग थाना इनचार्ज सौम्यजित रोई केशमा राहत को खबर

7:53 PM

बिगत दिन मा दार्जीलिंग सदर थाना इनचार्ज सौम्य जित रोईको गोर्खे सन्तान साथै नारी माथि गरेको अभद्र टिप्पणी साथै धम्कि बिरुद्ध GSSS ले Indian Union Cabinet Minister for Women & Child Development श्रीमती मेनुका गान्धीलाई अर्जी चडाएको थियो भने उनले उक्त केशमाथि कारबाहीगर्दै होम मिनिस्ट्रीलाई यसको छानबिन गर्ने साथै उचित कारबाई गर्न निबेदन पठाएकी थिए . आज उक्त केसको फलोअपमा GSSS द्वारा राष्ट्रिय प्रबक्ता अन्जनी शर्मा सहितको टोलिले National Commission for Women का Chairperson श्रीमती रेखा शर्मा लाई भेट गरेर उक्त केशमा यथा शीग्र हस्तछेप गर्दै नारीमाथि भएको यो अत्याचार बिरुद्ध कारबाई गर्ने साथै अझ सम्म जेलमा थुनिएका निर्दोष नारीहरु लाई यथाशिग्र छोडिनु पर्ने मांग राखे।

श्रीमती रेखा शर्मा सित भएको वार्तामा उनले आफु उक्त केश लिएर गम्भीर रहेको अनि अति चाडो नै उनि आफु नै दर्जील्लिंग जाने अनि केशको छानबिन गर्ने बचन दिएभने गोर्खा हरु लाई उनको दार्जीलिंग भ्रमण अवधि उनको साथ् दिने निबेदन पनि गरे। उनको उत्सुकतालाई देखेर अब यो केशले सकारात्मक बाटो पाउने साथै हाम्रो नारीहरु सित न्याई हुने कुरोमा GSSS विश्वस्त छ भने न्याई नपाए सम्म संघर्ष जारी  रहने छ .

Via GSSS

AM I FROM NEPAL ?

8:20 PM
AM I FROM NEPAL ?
मैले तीनपल्ट सोधें गोवामा...

“POET SUBASH RAI SOTANG FROM NEPAL”  भनेर मलाई दुइपल्ट भनिएपछि मैले “AM I FROM NEPAL? “ भनेर तीनपल्ट सोधें गोवामा | साहित्य अकादमीद्वारा पणजीको कला अकादमी सम्मेलन कक्षमा सम्पन्न भएको ‘Symposium On Contemporary North-East Indian Literature and Poet Meet’ कार्यक्रममा म पनि Indian Nepali Poet को रुपमा उपस्थित थिएँ | तर जब कार्यक्रम शुरु भयो तब उपस्थित कविहरूलाई मंचमा बोलाउने क्रममा कार्यक्रमकी उद्घोषिकाले मलाई “Poet  Subash Rai Sotang  from Nepal” भनेर बोलाइन् | त्यतिमात्र होइन फेरि पछि कविता वाचनको निम्ति बोलाउँदा पनि त्यही ठेगाना दोहोराइन् |

आयोजकवर्गले भनेअनुरूपनै आफ्नो सम्पूर्ण ठेगाना लेखिएको बायोडाटा अघिबाटै उपलब्ध गराउँदा – गराउँदै पनि आफुलाई ‘नेपालबाट आएको कवि” भनिँदा चुप लागेर नूनको सोझो बन्नु मलाई मेरो मनले दिएन र नै हामी भारतीय नेपाली कविहरू धरीलाई लाग्ने ‘मेड इन् नेपाल’-को छाप हटाउन तथा आफ्नो असली परिचयबारे उनीहरूलाई अवगत गराउन मैले आफ्नो बोल्ने पालो आएपछि आफू नेपालबाट आएको लेखक नभएर भारतीय नेपाली लेखक भएको कुरा स्पष्ट पार्ने सक्दो कोशिश गरेको थिएँ | जुन कुरा त्यहाँ उपस्थित ‘Times of India’ (TOI)-की रिपोर्टरले गोवा पेजमा अलिक अधमरो रुपमा प्रकाशित गरिछिन् अनि त्यही खबर यता ‘Darjeeling Times’-ले पनि आफ्नो वालमार्फत प्रचारमा ल्याएपछि आफ्नो-आफ्नो बुझाइअनुसार विभिन्न प्रतिक्रियाहरू पनि हुँदैरहेछन् | आफ्नो मोबाइलमा भने आफ्नो स्टाटस मात्र हेर्न सकिने सुविधा हुँदा बाहिर के हुँदैछ समयमा थाहै भएन | आज घर आइपुगेपछि त्यो अपुष्ट खबर र त्यसमाथि भएको बुझाइको बाझोलाई ध्यानमा राख्दै त्यहाँ मैले आपत्ति जनाएको सत्यताबारे स्पष्ट पार्न बसें |

जानेर हो कि अन्जानमा हो उद्घोषिकाले मेरो ठेगाना स्पष्टरुपले ‘नेपाल’ बताए पछि प्रतिक्रियास्वरुप मैले मेरो कुरा मंचबाट यसरी राखेको थिएँ –
“Seeking your prior permission, First of all I would like to clarify regarding my address. (यतिबेलै मसितै मंचमा आसीनहरूमा कसैले ‘Yes Yes address was wrong’ पनि भन्दै थिए, म बोलिरहें)-  It was announced from here that I m from Nepal. Am I from Nepal  ? Am I from Nepal ? Am I from Nepal ?  (यसरी मैले तीनपल्ट सोधें, यसबेला मंचमा आसीनहरूमध्ये केहीले भन्दै थिए – “No, No, No”)

Is  Nepal a part of India ?
Is Nepal a part of India ?

(मैले दोस्रो प्रश्न यसरी दुइपल्ट गरें अनि आवाज पनि सुन्दै थिएँ –“No, No, No.” म बोलिरहें)- Here we are talking about ‘Contemporary North-East Indian Literature’ (दोहोर्याउंदै फेरि भनें)- ‘Indian Literature’ And I have been invited here as an Indian Nepali writer. Then how could you say that I am from Nepal? Of course, I speak Nepali, My own language Is Nepali. But I am a Nepali speaking Indian Citizen, and my country is India. Please don’t make me a Nepali foreigner. (यसबेला मुखैमा आयो हिन्दी, भन्दिएँ हिन्दीमा पनि) – हमे विदेशी मत बनाइए | I am from Darjeeling, which falls in India under West Bengal State. (फेरि हिन्दीमा भनिदिएँ)  “ कृपा करके इंडिया का हिस्ट्री, जोग्राफी, राजनीति मत बिगारिएगा, प्लिज |”

त्यसपछि ती उद्घोषिकाले धेरैचोटि मंचबाटै माफी मागिन् अनि आफ्नो उद्देश्य तेस्तो नभएको बताइन् | वास्तवमा प्रोग्राम लिस्टमा नामको पछि ब्रेकेटमा ‘नेपाली’ लेखिएकोले गर्दा तेसो हुनगएको भन्ने आलटाले जवाब दिनथालिन् | मैले प्रतिक्रियामा भनें – “What people think and speak about us in the market because of their misconception, We don’t care but this is an official programme, So this type of error should not  happen.”

कार्यक्रमपछि पनि तिनले व्यक्तिगत रुपमा भेटेर मलाई स्पष्टिकरण दिने कोशिश गरिन्, क्षमा मागिन् | असम, मणिपुर, बोडो साथीहरूले पनि राम्रो जवाब दिएकोमा धाप मार्दै बधाई दिए | उत्तर-पूर्वी राज्यवासीहरूलाई देशले हेर्ने दृष्टिकोण अझ पनि सही नभएको कुरा गरे तिनीहरूले | त्यसरी नै कविगोष्ठी सत्रका अध्यक्ष तथा सुप्रसिद्ध कोंकोणी लेखक पुंडलिक नायकले त मेरो भनाइलाई आधार गर्दै यो देशमा कतिपय जातिलाई घरी घरी आफूहरू राष्ट्रवादी भएको प्रमाण दिइरहनु पर्ने बिडम्बना रहेको प्रसंगको उल्लेख गरे | उनले देशलाई टेरिटोरी मात्र चाहिएको तर त्यहाँको मानिस नचाहिएको झैँ लाग्छ पनि भने | यस्तो कुरा लिएर पनि उत्तर-पूर्वी क्षेत्रका कलमकारहरूले कलम चलाउनु पर्ने उनले बताए |
“समकालीन नेपाली साहित्य”- माथि वार्ता दिन आएका असम तेजपूरका लेखक ज्ञानबहादुर छेत्रीले पनि खुसी हुँदै मलाई भने –“ फलाम तातिएकै बेलामा प्रहार गर्नुपर्छ, अरुबेला गनगन गरेर हुँदैन | तपाईंले ठिक ठाउँमा ठिक्क बोल्नुभो |” उनले अझै भने –“ त्यो उद्घोषिकालाई त रिसाउनु होइन धन्यवाद पो दिनुपर्छ होला अब, कारण उसैको कारणले त तपाईंले हाम्रो कुरा स्पष्ट संगले राख्ने मौका पाउनुभयो |”
मैले पनि कता कता सम्झिएँ – ‘हो त’|

कुरा यसो भाको थियो | त्यसपछि ती टाइम्स अफ इन्डियाकी रिपोर्टर मलाई खोज्दै आइन् र इन्टरव्यु लिन थालिन् | उनी पनि मलाई सोध्छिन् “तपाईं कहाँ जन्मेको भनेर |” मैले म त के मेरो बाजे-बराजु जम्मै दार्जीलिंगमा नै जन्मेका हुन्” भनेर बताइदिएँ | भनिदिएँ- We are the architect of modern India. But people have misconception regarding us because of Indo-Nepal reciprocal treaty and open border.

(अरु थुप्रै कुरा भनें  क्रमश: लेखुँला |)

Note - This is what Poet Subash has posted on  Facebook 

Via POET SUBASH RAI SOTANG

हामी जनतालाई भ्रष्टचारमुक्त शाषण दिनेछौँ – विनय तामाङ

9:23 AM

करोडपति ठेकादार ‘ब्ल्याक लिस्ट’ मा समावेश

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ,  23 मार्च। ‘हामी जनतालाई भ्रष्टचारमुक्त शाषण दिनेछौँ’ उक्त कुरा जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष विनय तामाङले भनेका हुन्। यहाँको डा. ग्राह्मस होम्स स्थित दुईवटा विकास कार्यहरूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले जीटीएलाई भ्रष्टचार मुक्त बनाउने दाबी गरेका हुन्। ‘हामीलाई विकास कार्यमा प्रतिशत खाँदैनौँ, तर जनतालाई गुणस्तरीय कार्य गरेर सुविधा दिनेछौँ’ विनय तामाङले भने। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जनतालाई विकास कार्यको सुविधा दिन अनि विकास कार्यलाई तिव्रता दिनका निम्ति कालेबुङ ईञ्जीनियरिङ विभागलाई फराकिलो पार्दै खण्डस्तरीय ईञ्जिनियरिङ विभाग स्थापना गर्ने जीटीए वोर्डको समिक्षा वैठकमा निर्णय लिएको पनि जानकारी दिएका छन्।

‘जीटीएले खण्डस्तरीय ईञ्जीनियरिङ विभाग गठन गर्नेछ। प्रत्येक खण्डमा विकास कार्यलाई तिव्रता दिन यसो गरिएको हो। यो कार्य आगामी महिनाको पहिलो तारिखदेखि लागु हुनेछ’ तामाङले अझ भने। उनले उक्त खण्ड स्तरीय विभागले प्रत्येक विकास कार्यहरूको साप्ताहिक समिक्षा रिपोर्ट जीटीएलाई पठाउनुपर्ने पनि निर्देश दिएका छन्।

यसक्रममा उनले विकास कार्यलाई तिव्रता दिएर जनतालाई छिटो सुविधा दिनका निम्ति ठेकादारहरूलाई पनि निर्धारित समय सिमाभित्र सबै कार्यहरू समाप्त गर्नुपर्ने निर्देश दिएका छन्। काम नगर्ने ठेकादारहरूलाई आफुहरूले कार्वाही सुरु गरेको भन्दै एकजना करोडपति ठेकादारलाई सही काम नगरेको कारण ‘ब्ल्याक लिस्ट’ मा समावेश गरिएको पनि जानकारी दिएका छन्। उनले डेलोमा सम्पन्न जीटीएको समिक्षा वैठकमा विभिन्न कार्यहरूको समिक्षा भएको जानकारी दिँदै आगामी वर्षहरूमा हुने कार्यहरूको खाका तयारी गर्ने कार्य गरेको पनि जानकारी दिएका छन्।

तामाङले आज डा. ग्राह्मस होम्स परिसरमा निर्माण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र अनि स्व. मङ्गलसिंह राजपुत स्मृति सामुदायिक भवनको उद्घाटन गरेका छन्। जीटीए अधिनस्थ रहेको स्वास्थ्य एवम् परिवार कल्याण विभागद्वारा मोठ 12 लाख 77 हजार 8 सय 57 रूपियाँको लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको निर्मण गरिएको छ भने कालेबुङ अभियन्ता विभागद्वारा 1 करोड 60 लाखको लागतमा सामुदायिक भवन निर्माण गरिएको छ।

दुवैवटा विकास कार्यहरूको जीटीए अध्यक्ष विनय तामाङले रिबन काटेर उद्घाटन गरेका हुन्। यसक्रममा उनले अहिलेघरी प्रत्येक दिननै प्रत्येक ठाउँमा जनताको विकास कार्यहरूको सुविधा उपभोग गर्न पाइरहेको दाबी पनि गरेका छन्। उक्त उद्घाटन समारोहमा जीटीए उपाध्यक्ष अनित थापा, कार्यकारी सदस्य सञ्चवीर सुब्बा, मुख्य सचिव सुब्रतो विश्वास, सचिव सी. मुरुगण आदि समेत उपस्थित रहेका थिए।

 
Copyright © Indian Gorkhas. Designed by Darjeeling Web Solutions