स्टन्ट राइडर मिलन

*Milan Pradhan is one of the most famous stunt riders from Sikkim.

नयाँ बर्ष २०७३ को प्रारम्भसँगै राजधानीका २ स्थानमा बाइक स्टन्टका अनौठा दृश्य प्रस्तुत गरिए । राइडर्स युनिफाइडको संयोजनमा संकटा मन्दिर परिसर र जावलाखेल मैदानमा सम्पन्न उक्त बाइक स्टन्टमा नेपाली स्टन्ट राइडरहरुको प्रस्तुति कम रोचक थिएन । यद्यपि भारतको सिक्किमबाट आएका मिलन प्रधानको स्टन्ट राइडिङ प्रस्तुतिले सबैभन्दा बढी प्रभाव छोड्न सफल भएको छ । बाइकलाई बेतोडले कुँदाउने, हुत्याउने, हात छोडेर कुँदाउने, बाइकमाथि खुट्टाले टेकेर पनि सन्तुलनमै कुँदाउने आदि मुटु नै सिरिङग हुने दृश्य उक्त अवसरमा देखिएका थिए । ‘यस्तो पनि गर्न सकिन्छ र ?’ भनी दर्शकले जिब्रो नै टोक्ने दृश्य प्रस्तुत गर्ने मिलनको क्षमतालाई कसले पो तारिफ नगर्ला र ? सिक्किमको गान्तोकमा बाइक वर्कसप र एसेसरिज तथा पार्ट्स व्यवसायको रुपमा ‘बाइकर्स सिक्किम’ संचालन गरिरहेका मिलनले सिक्किमकै नाम्ची गभर्मेन्ट कलेजमा पढेका थिए । कलेज पढ्दै गर्दा नै यस्ता स्टन्टप्रति रुची राख्ने साथीहरुको एउटा समूह थियो । उक्त समूहमा ९ जना थिए र उनीहरुलाई सबैले ‘बाइकर्स ब्वाइज’ भन्थे । उनीहरु ५ किलोमिटर टाढाको हेलिप्याडमा गएर यसका लागि अभ्यास गर्थे । खासमा मिलनले त्यतिखेर पनि स्टन्टका विभिन्न शैलीका वारेमा सुनेका पनि थिएनन् । एक दिन १५० सिसी पल्सरमा ‘ब्रेक लगाउदा पछाडिको चक्का माथि उठ्छ’ भनेर कसैले भनिदियो । उनले अभ्यास गरी हेरे । साँच्चिकै चक्का माथि उठ्यो । त्यसैलाई ‘स्टपी’ भनिदो रहेछ भन्ने कुरा पछि मात्र थाहा पाए । उनमा यस प्रकारको स्टन्ट गर्ने हौसला जाग्यो । त्यसपछि उनले यस्ता दृश्य भएका फिल्म हेर्न थाले । त्यसका लागि अभ्यास पनि गर्न थाले ।

Milan Pradhan is one of the most famous stunt riders from Sikkim.
Milan Pradhan is one of the most famous stunt riders from Sikkim.

उनले साथीहरुसँग मिलेर यस्ता ग्रुपको खोजी गर्न थाले । सिलिगुढीमा रहेको प्रसिद्ध बाइकर्स ग्रुप ‘एक्सकेएमपीएच’ को सम्पर्क खोजे । उनीहरु १ सय १० किलोमिटरको दूरी पार गरेर उनीहरुलाई भेट्न पुगे । अब मिलन यस्ता स्टन्ट सिक्न र जान्नका लागि मरिहत्ते गर्न थाले । इन्टरनेट, भिडियो मात्र होइन, बाइक इन्डिया र अन्य पत्रिकामा समेत स्टन्टका बारेमा खोजी गर्न थाले । युट्युबमा उनले यस्ता विभिन्न दृश्य हेर्ने र त्यसै अनुसार अभ्यास गर्ने गर्न थाले ।
विस्तारै बाइक स्टन्टको क्षेत्रमा मिलन परिचित हुँदै गए । उनी सिक्किममा स्थानीय स्तरमा आयोजना हुने विभिन्न प्रदर्शनीको अवसरमा आफ्ना कला देखाउथे । उनले अन्य स्थानमा पनि आफ्नो कला देखाउदै गए । सन् २००८ मा बजाज पल्सरले ‘फस्र्ट स्टन्ट मेनिया’ आयोजना गरेको थियो । उनी उत्तरपूर्वी भारतबाट भाग लिए र अडिसनको फाइनल राउन्डसम्म पुगे । बाइक इन्डिया म्यागेजिनले उनको कभर फोटो प्रकाशित ग¥यो । त्यसपछि त झन् उनको चर्चा एकाएक चुलियो । फोन आउने र अन्तर्वार्ताका लागि अनुरोध आउने हुन थाल्यो । उनी एउटा सेलिब्रेटी नै बने । स्टन्ट शो एउटा खतरायुक्त खेल भए पनि सुरक्षित रुपमा खेल्न सकिने उनको भनाइ छ । यसका लागि आफूमा स्टन्ट टेक्निक चाहिन्छ । भन्छन्, ‘जुनसुकै खेल पनि आफैमा खतरायुक्त हुन्छ । तर खतरामुक्त तरिकाले सिप सिकेर खेल्दा बाइक स्टन्ट पनि रोचक हुन्छ ।’ अहिले सिक्किममा कुनै फेस्टिभलको अवसरमा बाइक स्टन्ट हुन्छन् । यस्तो समयमा १०÷१५ दिनसम्म पनि स्टन्ट शो आयोजना गरिन्छ । यो समयमा उनी नयाँ राइडरहरुलाई स्टन्ट समेत सिकाउछन् । मिरिकका चिराग राई उनका मन पर्ने स्टन्ट राइडर हुन् । त्यसैगरी ‘किङ अफ स्टन्ट’ को रुपमा परिचित क्रिस पिफरलाई उनी फलो गर्छन् । क्रिस बीएमडब्ल्युका अफिसियल स्टन्ट राइडर हुन् । स्टन्ट राइडिङका लागि अन्य बाइक पनि उपयुक्त हुन सक्छन् । तर बजाज पल्सरमै आफूलाई बढी सुविधायुक्त लाग्ने मिलन बताउछन् । पल्सरलाई आवश्यकता अनुसार मोडिफाई गरेर पनि स्टन्टका लागि उपयुक्त बनाउन सकिन्छ । उनी भन्छन्, ‘सस्तो मूल्य भएर पनि पल्सर पावरफुल समेत छ ।’ मिलनको मामाघर ललितपुरको जावलाखेल हो । यद्यपि उनी १८ बर्ष पछि मात्र मामाघर आए । यही समयमा उनले स्टन्ट प्रदर्शन गर्न पनि भ्याए । उनले धरानमा पनि यस्तो स्टन्ट प्रदर्शन गरिसकेका छन् । जीवनमा लगभग २० बाइक परिवर्तन गरिसकेका मिलनले कक्षा १० पढ्दा नै बाइक चलाउन सिकेका थिए रे । त्यतिखेर यामाहाको आरएक्स १०० को सिटको उचाइ घटाएर भए पनि उनी बाइक चढेका थिए रे । यद्यपि स्टन्ट शोमा भने पछि मात्र मन गयो । स्टन्ट शो आफैमा जोखिमयुक्त खेल हो । त्यसैले होला, पहिलो पटक छोराको यस्तो दृश्य देख्दा उनकी आमा रुनुभएको थियो रे । बुवाले भने लुकेर भए पनि मिलनको यस्तो स्टन्ट हेर्नुहुन्छ । मिलनले नै आफ्नो स्टन्ट भएको समयमा बुवालाई नआउन अनुरोध गर्छन् । त्यसैले पनि बुवाले लुकेर हेर्ने गरेको उनले बताए ।
यस्तो अनौठो खेलको अभ्यास गर्दा पनि अहिलेसम्म मिलन खासै ठूलो दुर्घटनामा भने परेका छैनन् । उनी भन्छन्, ‘सामान्य रुपमा त १५÷२० पटक लडे हुँला । तर त्यस्तो ठूलो दुर्घटना भने भएको छैन ।’ कुनै अभ्यासमा चित्त बुझेन भने उनले राती सपनामा पनि त्यही स्टन्ट गरेको देख्छन् रे । प्रस्तुति : एकराज सुवेदी Via nepalauto


Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions