बारूद थापा बने गोजयुमोका केन्द्रिय उपाध्यक्ष विमलको अदूर्दशिताको कारण जनताले दुःख पाए- बारूद

प्रतिविम्ब न्यूज
दार्जीलिङ 28 मार्च।

गत 104 दिनको आन्दोलनकालभरि भूमिगत रहेका बागी नेता बारूद थापा पनि आधिकारीकरूपमा अब विनय तामाङ खेमामा सामेल भए। विमल खेमामा रहेर आन्दोलनकालभरि भूमिगत अवस्थामा रहेका बारूद थापाले केही महीनाअघिमात्रै सार्वजनिक हुँदै विनय तामाङलाई समर्थन जनाएका थिए। विमल गुरूङको समयमा कालेबुङका प्रभावशाली नेताको रूपमा ख्याति कमाएका थापालाई हालमा त्यति सक्रिय नदेखिएतापनि आज उनलाई पुनः गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिको उपाध्यक्षको रूपमा नियुक्त गरिएको छ। गोजयुमो केन्द्रिय समितिका पदाधिकारीहरूले आज गोजमुमो अध्यक्ष विनय तामाङसित एक औपचारिक सभा बसेका थिए भने सोही सभापछि बारूद थापालाई युवा मोर्चा केन्द्रिय समितिको उपाध्यक्षको रूपमा नियुक्त गरिएको हो।

गोजयुमो केन्द्रिय उपाध्यक्ष नियुक्त हुनसाथ उनले आज पत्रकारहरूसमक्ष विमल गुरूङको रणनीतिविहीन आन्दोलन अनि अदूर्दशिताको कारण पहाड़को जनताले हुनसम्मको दुःख पाएको बताए। विमल गुरूङको रणनीतिबिनाको आन्दोलन अनि अदूर्दर्शिताको कारण पहाड़को जनताले हुनसम्मको दुःख पाए। त्यस्तो परिस्थितिबाट विनय तामाङ अनि अनित थापाले पहाड़लाई बाहिर निकाल्ने काम गरेको छ। उनीहरू दुईको कारणले गर्दा नै पहाड़ अहिले शान्त भएका छन्। पहाड़वासीले राहतको सास फेरिरहेका छन्। यसको निम्ति म सम्पूर्ण पहाड़वासीको पक्षमा विनय तामाङ अनि अनित थापालाई धन्यबाद पनि दिन्छु, पत्रकारहरूलाई सम्बोधन गर्दै बारूद थापाले आज यसो भने।

विनय तामाङ अनि अनित थापाले पहाड़लाई बचाउने जुन सराहनीय काम गरेको छ त्यसलाई हेरेर पनि पहाड़को जनताले उनीहरूलाई समर्थन गर्नुपर्छ, थापाले यसो पनि भने।

उल्लेख्य, हिजोमात्र आन्दोलनकालमा निक्कै सक्रिय देखिएका तथा लामो समयसम्म भूमिगत रहेका गोजमुमो नेत्री विनिता रोकाले पनि विमल गुरूङमाथि यस्तै आरोप लगाउँदै विमल गुरूङलाई मोहम्मद बिन तुघलगको संज्ञा समेत दिएका थिए भने आज लगत्तै बारूद थापाले पनि यस्तै आरोप लगाएका छन्।

बारूद थापालाई केन्द्रिय उपाध्यक्षको रूपमा पाउँदा आफूहरूलाई धेरै खुशी लागेको उल्लेख गर्दै युवा मोर्चा शीर्ष नेतृत्त्वहरू क्रमैले केन्द्रिय अध्यक्ष अमृत योञ्जन, महासचिव तिलक छेत्री अनि केन्द्रिय प्रवक्ता अरूण छेत्रीले पनि उनलाई पार्टीमा स्वागत गरेका छन्। बारूद थापासित आज यी तीनैजना नेतृत्त्वहरू पनि पत्रकारहरूसमक्ष उपस्थित रहेका थिए।

फोटोः पत्रकारहरूलाई सम्बोधन गर्दै बारूद थापालगायत अन्य शीर्ष युमो नेताहरू।

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions