गोरखा जनमुक्ति मोर्चा प्रेस विज्ञप्ति

गोरखा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) अनि जन आन्दोलन पार्टी(जाप)-का अध्यक्षहरू अब तृणमूल कंग्रेसका नेताहरूको अधीनमा परेका छन् जसले गत विधानसभा चुनाउ पनि जित्न सकेका थिएनन्। यो पहाड़वासीको निम्ति ठूलो अपमान हो अनि समतल केन्द्रित राजनैतिक दलहरूले पहाड़का राजनैतिक दलहरूको कहिल्यै सम्मान गर्दैनन् भन्ने उदाहरण पनि हो।

तृणमूल कंग्रेसका दार्जीलिङ जिल्ला अध्यक्षले कसरी अध्यक्ष या उपाध्यक्षको कुनै पनि पद पाएनन् अनि कसरी गोरामुमो अनि जापका अध्यक्षहरूले उक्त पदहरू पाए? यसले प्रत्यक्षरूपमै जाप अनि गोरामुमो तृणमूल कंग्रेसकै खेमाकाहरू हुन् भन्ने प्रमाणित गर्छ। हिल तृणमूलभन्दा पनि जाप अनि गोरामुमो तृणमूल कंग्रेसको निम्ति धेरै महत्वपूर्ण रहेको सत्य पनि यसले स्पष्ट पार्छ।

पहाड़का समग्र जनता यी दुई दल जाप अनि गोरामुमोदेखि टाँड़ा बस्नुपर्छ। उनीहरू गोरखाल्याण्ड बेच्ने दल हो अनि गोरखाल्याण्ड बेचेकोमा राज्य सरकारले उनीहरूलाई पुरस्कृत गरेका हुन्।

गोरामुमो अनि जापले गोजमुमोलाई भ्रष्टाचारको जुन आरोप लगाइरहेका छन् त्यो पूर्णरूपले निराधार रहेको छ। जबकि उनीहरूले नै गोरखाल्याण्डको मुद्दालाई नवान्नमा बिक्री गरेका छन् जो पहाड़को इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार हो अनि यसप्रकारको भ्रष्टाचार पहाड़वासीले कहिल्यै देखेका थिएनन् अनि सोचेका पनि थिएनन्। उनीहरूलाई जनभावना अनि जातीय अस्मिता र स्वाभिमानको कुनै सरोकार छैन, यसैले गोरखाल्याण्डको मुद्दा बेचेर राज्य सरकारबाट पाएको पुरस्कारले उनीहरू गदगद भइरहेका छन्, त्यसैको पुरस्कारको रूपमा राज्य सरकारले उनीहरूलाई पद प्रदान गरेको हो।

गोरामुमो अनि जापले जनताको सपनामाथि घात गरेपछि अब गोरखाहरूको स्वाभिमान अनि जातीय अस्मिताको निम्ति निरन्तर संघर्ष गरिरहने एकमात्र इमान्दार दल गोरखा जनमुक्ति मोर्चामात्रै रहेको प्रमाणित गरिदिएको छ। किनभने गोरखाल्याण्डको निम्ति प्राणको बाजीसमेत लगाउने अब गोरखा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङमात्रै रहेको प्रमाणित भयो।

श्री रोशन गिरी,
महासचिव,
गोरखा जनमुक्ति मोर्चा।

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions